सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। नेपाली काङ्ग्रेस लगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै दर्जनौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। होली पर्वको अवसर पारेर अधेरीस्थित घण्टीघरमा आयोजित विशेष कार्यक्रममा उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

उक्त कार्यक्रममा क्षेत्रीय सभापति उमेश लामा, जिल्ला सदस्य विदुर खड्का, प्रतिनिधिसभा सदस्यका उम्मेदवार भरत प्रसाद पराजुली तथा समानुपातिक उम्मेदवार प्रमोद न्यौपाने लगायतका नेताहरूले नवप्रवेशीहरूलाई टीका तथा अबिर लगाई पार्टीमा स्वागत गरेका थिए। होलीको उत्साहपूर्ण वातावरणबीच सम्पन्न कार्यक्रमले स्थानीय राजनीतिक माहोल थप तातेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा बोल्दै नेताहरूले देशमा वैकल्पिक राजनीति र सुशासनको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै रास्वपा जनताको आशा र भरोसाको केन्द्र बन्दै गएको दाबी गरे। उनीहरूले नयाँ सदस्यहरूलाई पार्टीको सिद्धान्त, पारदर्शिता र उत्तरदायित्वको मार्गमा रहेर जनताको सेवामा सक्रिय हुन आग्रह गरेका थिए।

पार्टी प्रवेश गर्नेहरूले पुराना दलबाट अपेक्षित परिवर्तन हुन नसकेको र विकास तथा सुशासनको नयाँ सोचसहित अघि बढ्न रास्वपा रोजेको बताएका छन्।

होलीजस्तो सांस्कृतिक पर्वकै दिन आयोजित कार्यक्रमले राजनीतिक र सामाजिक रूपमा सकारात्मक सन्देश दिएको स्थानीयवासीहरूको प्रतिक्रिया छ। रंगहरूको पर्वसँगै नयाँ राजनीतिक ऊर्जा र उत्साह थपिएको सहभागीहरूले बताएका थिए।

यस प्रवेशसँगै त्रिपुरासुन्दरी गाउँपालिका–३ मा रास्वपाको संगठनात्मक आधार अझ बलियो बनेको नेताहरूको भनाइ छ।